“गुरू” कविता (भूमिनन्द देवकोटा)

469

आकाश अर्थात सबैतिर
उतार-चढावमा
निस्फिक्री तैरिरहेका पिण्डहरू
सूक्ष्म सूक्ष्म र विशाल
अनि दृश्य र अदृश्य
सबै सबै एकत्वमा
जो अस्तित्व छ
गुरू उनै हुन् ।

सूक्ष्म सूक्ष्म बीज जो छ
त्यो चेतना हो
चेतना नै नयाँ हो
नयां, निरन्तर फेरिनु हो
फेरिनु, नदोहरिनु हो
यही गुणले अनन्त गतिमा
जो अस्तित्व छ
गुरू उनै हुन् ।

पिण्डहरूमा, उपपिण्डहरू छन्
जो कण-कणमा बिभक्त
अनि, गतिमा छ
जो गति हो
पल-पल निश्चित छ
त्यही निश्चित पल-पलमा
जो अस्तित्व छ
गुरू उनै हुन् ।

श्रृष्टि, पालन र संहार
जो समय क्रम छ
अविराम चलिरहने
सदा सदा नवीनतम
यहाँ वहां जहाँ कहीं
म तिमी उनी सबैमा
एउटै दृष्टिगोचर जो गर्छ
गुरू उनै हुन् ।

उज्यालो, रबि, दीप …. वा ज्ञान
माटो, पानी, हावा …. शक्ति अनेक
मनुष्य, पशुपन्छी, किटपतङ्ग
वनस्पति र सबै सबै
जहाँ खोज
अन्तरमनमा ज्योति
जो जग्मगाउँछ
गुरू उनै हुन् ।

म, तिमी, उनी जस्तै हरेक पिण्डहरू
पञ्चमहाभूतहरू हो
पञ्चमहाभूतहरू ब्रह्माण्ड हो
ब्रह्माण्डहरू अस्तित्व हो
जो अस्तित्व म,तिमी, उनी
र सबै सबैमा छ
जहाँ कहीं जता कतै छ
गुरू उनै हुन् ।

माया दया करूणा
सहवास सहजीवन सहअस्तित्व
ज्ञान ध्यान समाधि
तब शान्ति सुख
सर्वत्र जो छ
सुरक्षा कवच अस्तित्वको
अर्थात अनन्त यात्रा
गुरू उनै हुन् ।